Photo will be here
खेमराज पोखरेल

नेपाली लघुकथाको सम्वर्धनमा फेसबुकभित्रको लघुकथा कुनोको महत्वपूर्ण योगदान छ । यो कुनोको स्थापना हुनुभन्दा पहिले नेपाली लघुकथा विशेष भनेर कुनै सामाजिक सञ्जाल थिएन । नव लघुकथाकारहरूलाई आफूले लेखेका लघुकथा प्रकाशन गर्न र पाठक समक्ष पुर्याउन निकै अप्ठ्यारो थियो । लघुकथाको स्वरूप तथा सीमाका बारेमा लघुकथा वृतमा निकै द्विविधाहरू थिए । नेपाली भाषामा लघुकथाका सिद्धान्तका पुस्तक थिएनन् । यस्तो अवस्थामा नेपाली साहित्यमा लघुकथाको मानक निर्माण गर्न सर्वप्रथम लघुकथा कुनोले लघुकथाको नियम बनाएर पेजमा पिन गरेर राखिदियो । नयाँ र पुराना लघुकथाकारहरूका बिचमा यो कुनोले सम्वाद बढायो । भर्खर लेख्दै गर्नु भएका लघुकथाकारहरूले आफैँ यो लघुकथा कुनोमा पोस्ट गर्न सकिने भयो । हाल आएर करिव ३२००० सदस्य रहेका छन् लघुकथा कुनोमा । नेपाली लघुकथाको स्वरूप, सीमा र प्रकृयाका बारेमा परामर्श दिने काम पनि गर्दै आएको छ । यो लघुकथा कुनोको एडमिनको रूपमा म भूमिका निर्वाह गर्दैछु ।

प्रारम्भिक दिनहरूमा म कविता नै लेख्थेँ । कलेजीय जीवनमा हुने गरेका साहित्यिक कार्यक्रममा भाग लिन्थेँ । कैयौँ कविता पुरस्कृत भएका थिए । राजविराजको तत्कालीन स्थानीय पत्रपत्रिकामा कविता र लेखहरू छापिएका थिए । तर समयक्रममा अहिले मैले आफूलाई आख्यान क्षेत्रमा नै समर्पित गरेको छु । लघुकथा, कथा, लघुउपन्यास, उपन्यास, नियात्रा, निबन्ध, समीक्षा मेरा अबको कर्मक्षेत्र भइरहेको छ । नेपालका विभिन्न साहित्यिक पत्रिकाहरूमा लघुकथाहरू, कथाहरू, समीक्षाहरू सङ्ख्यात्मक रूपमा छापिएका छन् । हिन्दी भाषामा भारतबाट प्रकाशित हुने सहित्यिक पत्रिका तथा सामाजिक सञ्जालमा लघुकथाहरू हिन्दी भाषामा अुनवाद भएर छापिएका छन् । एकल लघुकथा वाचन गर्छु । गोरखापत्र संस्थानले गराएको लघुकथाको राष्ट्रव्यापी खुला प्रतियोगितामा तेस्रो भइ पुरस्कृत भएको लघुकथा ‘सिमानामा आमा’ मैले लेखेको थिएँ ।

अहिलेसम्म एउटा निबन्धसङ्ग्रह ‘सबैथोक छ केही छैन’, एउटा कवितासङ्ग्रह ‘सडक र बुढो सिमल’, पाँचवटा लघुकथासङ्ग्रहहरू ‘पछ्यौरीको आइसक्रिम’, ‘दह्रो लौरो’, ‘सिमानामा आमा’, ‘राम शाहको चौतारो’ र ‘ईश्वरको मृत्यु’, दुईवटा कथासङ्ग्रह ‘ऊनको डल्लो’ र ‘पगाहा’ प्रकाशन भएका छन् । र दुईवटा लघुकथासङ्ग्रह ‘मोलुङ लघुकथासङ्ग्रह’ र ‘मदुस’ सम्पादन भएका छन् । लघुउपन्यास र उपन्यास लेखिने क्रममा छन् । यसैगरी फेसबुकमै रहेको ‘कथा’ समुहको पनि एडमिन भएर काम गरिरहेको छु । एफएम तथा पत्रिकाहरूले आफ्ना अन्तरवार्ता कार्यक्रममा मलाई बोलाएर अन्तर्वार्ता प्रशारित गरेका छन् । विभिन्न साहित्यिक, सामाजिक संस्थाहरूले आजीवन सदस्य बनाएका छन् ।

मैले आफ्नो सबै उर्बर समय शिक्षक पेसामा दिएँ । हाइस्कुलको शिक्षकबाट सुरु भएको मेरो जीवन यात्रा कलेजको प्राध्यापनमा ३३ वर्षको प्राज्ञिक अनुभब सँगालेर रिटायर भएको छ । इतिहास, संस्कृति, सभ्यता तथा पर्यटन प्राध्यापन गर्दा दर्जनौँको सङ्ख्यामा विषयगत लेख प्रकाशित भएका छन् । इतिहास तथा संस्कृति विषयमा पुस्तकहरू प्रकाशित भएका छन् ।



Released

Coming Soon

Others

Coming Soon